- नवराज चौलागाईं
काठमाडौं । कहिलेकाहीँ नेपालको नेताहरुको शैली हेर्दा लाग्छ उनीहरु आफैं धामी अनि आफैं डायनी हुन् ।
सत्तामा बस्ता जनताको पक्षमा माखो नमार्ने आनि प्रतिपक्षमा पुग्दा सता पक्षलाई सक्दो गाली गर्ने अनि जनताको पक्षमा भए झैं गरी दन्किरहेको आगोमा घिउ थप्ने । यस्तै दृष्य देखियो माइतीघरमा । सहानुभूतिको नाममा आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।
माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानलाई माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली पुगेर समर्थन जनाएको देखियो । जनपक्षीय शासनको वकालत गर्दै आए पनि उनीहरु सतामा खुट्टा पसार्दा के वकालती गरे उखु किसानका लागि र अहिले कुन नैतिकताले सडकमा रमिते बन्न गइरहेका छन् । माओवादी मात्रै होइन तराइ मधेसका नेता मन्त्रीहरुले समेत ऐक्यबद्धता जनाएर गए ।
सडकको तातो घाममा पाकेका मधेसका किसानलाई ऐक्यबद्धता भन्दै ढ्यास्स बस्ने आनि फोटो खिचाएर करोडौं पर्ने पजेरोले तिनै किसानलाई धुलो फ्याक्दै हुइँकियो सिंहदरबारको सिरेटो खान । अलिकति पनि लाज नभपछि जे गरेनि भो, जसो गरे नि भो । लाज भए पो के गर्ने र के नगर्ने भन्ने चेत हुन्थ्यो लाजै मरेपछि त लाजको मलामी जान छोडेर माननीयहरु किन आन्दोलनको आवाजलाई बुलन्द पार्थै आखिरी रमिते बनेरै जाने हुन् ।
पोहोर पनि यस्तै गरे यसपाली पनि उस्तै हेर्दे गर्नुहोला यिनीहरुले अर्को साल पनि गर्ने यस्तै हो । बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रामा राख्दा सिधा होला बरु नेताहरुले रमिते गर्न कहिल्यै छोड्दैनन ।
आफू कृषि क्रान्तिका लागि होमिएको भन्ने काम्रेड विप्लब पनि बरु हरिसिद्धीमा प्रचण्डसँ हरियाली बैठक बसे परन्तु माइतीघरमा उखु किसानको पीडा बुझ्न आउन भ्याएन । कम्तीमा सत्तामा पुगेर एकपटक पनि स्वाद नचाखेका यिनी आएका भए र ऐक्यबद्धता जनाएका भए अलिकति आस पलाउँथ्यो बाँकी त बाँकी नै भए जसको उद्देश्य प्रस्टै छ । एक पटक काम्रेड विप्लबलाई अनुरोध यदि तपाई साँच्चै जनताको पक्षमा हो भने जानुहोस् र माइतीघरमा उखु किसानको पीडा बुझ्नुहोस् ।
सत्ताको लागि तपाई तयारी गर्दे हो र अहिले तपाईंले हुँकार निकालेर जनमुखी काम गर्नुभयो भने भावी दिनमा तपाईंको पल्ला भारी होला नत्र त उही जुन जोगी आए नि कानै चिरेको !