काठमाडौ । ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने २ घरमा आंशिक क्षति पुगेको छ।
आगलागीका कारण घरधनीतर्फका ८ परिवार र भाडामा बस्दै आएका ७ परिवार गरी १५ परिवार विस्थापित भएका छन्।
बिहीबार दिउँसो करिब १ बजेदेखि सुरु भएको आगलागीबाट घरसँगै किराना पसल, भाँडाकुँडा, कपडा तथा अन्य पसलका सामान जलेर नष्ट भएका छन्। केही पसलमा राखिएको अलैँचीसमेत जलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार मेरिङदेन गाउँपालिका–३ का याम लिम्बूको घरसहित करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै घनश्याम खरेलको घर तथा पसलमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
राजु शेर्पा भनिने आङमिङमा शेर्पाको घरसहित करिब ३५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ। सोही घरमा भाडामा बस्ने अनुष्का आङबुहाङको करिब ९ लाख र मोहन आङबुहाङको मासु पसलमा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, सुकवीर लिम्बूको घरसहित करिब ३१ लाख ५० हजार रुपैयाँ, उनको घरमा भाडामा बस्ने पवन लिम्बूको मासु पसलमा १ लाख ५० हजार रुपैयाँ र हरिप्रसाद तामाङको मासु पसलमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
कमला बर्देवाको कपडा पसलमा पनि करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीले आगलागीबाट भएको कुल क्षतिको विवरण संकलन तथा थप मूल्यांकन भइरहेको जनाएको छ।