कतारमा ११२ नेपाली ८ महिनादेखि अलपत्र, तलब र सुविधा नपाउँदा घर फर्किनसमेत समस्या

कतारमा ११२ नेपाली ८ महिनादेखि अलपत्र, तलब र सुविधा नपाउँदा घर फर्किनसमेत समस्या

बिहिवार, कार्तिक २० २०८३
बिहिवार, कार्तिक २० २०८३
  • काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि कतार पुगेका ११२ जना नेपाली कामदार आठ महिनादेखि समस्यामा परेका छन्। सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका उनीहरू पाँच महिनासम्म पारिश्रमिक तथा अन्य सुविधा नपाएपछि आफ्नो हकका लागि संघर्ष गर्दै आएका हुन्।

    लामो समयदेखि तलब नपाएका उनीहरूले नेपाली राजदूतावासदेखि कतारको श्रम विवाद समाधान समितिसम्म धाउँदा पनि अहिलेसम्म बक्यौता रकम प्राप्त गर्न सकेका छैनन्। पछिल्लो सात महिनादेखि कम्पनीले काममा समेत लगाउन छाडेपछि उनीहरूको अवस्था थप कठिन बनेको छ।

    सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका सञ्जयकुमार गुप्ताका अनुसार तलब नपाएको विषयमा नेपाली राजदूतावासमा गुनासो गर्दा तत्काल समस्या समाधान गर्न नसकिने जवाफ पाएका थिए। त्यसपछि बाध्य भएर उनीहरूले कतारको श्रम विवाद समाधान समितिमा उजुरी दिएका थिए।

    समितिले बक्यौता पारिश्रमिक र मुद्दा प्रक्रियामा लागेको खर्चसमेत उपलब्ध गराउन आदेश दिए पनि कम्पनीले निर्णय कार्यान्वयन नगरेको गुप्ताको भनाइ छ। उनका अनुसार समितिमा पटक–पटक पुग्दा अर्को मिति तोकेर पठाउने गरिएको छ।

    दोहास्थित एल्तावफिक एण्ड पार्टनर्स कन्ट्राक्टिङ कम्पनीविरुद्ध परेको उजुरीमा गत भदौ ३० गते न्यायाधीश मोहम्मद हसन मोहम्मद अल–नूरको अध्यक्षतामा बसेको इजलासले कामदारको बाँकी रकम र कानुनी प्रक्रियामा लागेको खर्च उपलब्ध गराउन निर्णय गरेको थियो। तर, निर्णय भएको लामो समय बितिसक्दा पनि कम्पनीले रकम भुक्तानी नगरेको धनुषाको विदेह नगरपालिकाका विजयकुमार मण्डलले बताए।

    मण्डलका अनुसार कम्पनीले आर्थिक अवस्था कमजोर भएको भन्दै कामदारलाई स्वदेश फर्काउन हवाई टिकटसमेत तत्काल उपलब्ध गराउन नसक्ने बताउँदै आएको छ। त्यसमाथि ८० देखि ८५ जना कामदारको परिचयपत्रको म्याद सकिएकाले औषधि उपचारजस्ता सामान्य काममा समेत समस्या भइरहेको छ।

    लामो समयदेखि घरमा पैसा पठाउन नसक्दा परिवारको दैनिक गुजारा चलाउनसमेत कठिन भएको कामदारहरूको गुनासो छ। उनीहरूका अनुसार एउटै कम्पनीमा कोही दुई वर्षदेखि त कोही आठदेखि दस वर्षसम्म काम गर्दै आएका छन्। तर, धेरैले सुरुदेखि नै पाउनुपर्ने बोनस, ओभरटाइम र अन्य सुविधा प्राप्त गरेका छैनन्।

    मण्डलले आफ्नो मात्रै तलब तथा अन्य सुविधासहित २२ हजार ७२६ कतारी रियाल कम्पनीबाट लिन बाँकी रहेको बताए। अन्य कामदारको पनि १० हजारदेखि ३० हजार रियालसम्म भुक्तानी हुन बाँकी रहेको उनीहरूको भनाइ छ।

    कामदारहरूले आफूहरूको बक्यौता रकम दिलाउनुका साथै सुरक्षित रूपमा नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

    यता युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कामदारहरूको समस्या समाधानका लागि नेपाली राजदूतावासले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएका छन्। उनका अनुसार बाँकी पारिश्रमिक दिलाउने, रोजगारीलाई निरन्तरता दिने र स्वदेश फर्किन चाहने कामदारको फिर्ती प्रक्रिया अघि बढाउने विषयमा पहल भइरहेको छ।

    मन्त्री यादवले श्रम विवाद समाधान समितिको निर्णय कार्यान्वयन गराउन र नेपाल फर्किन चाहने कामदारको प्रक्रिया सहज बनाउन दूतावासले सहजीकरण गरिरहेको जानकारी दिए। स्वदेश फर्किने कामदारले मुद्दाको थप प्रक्रियाका लागि दूतावासलाई मञ्जुरीनामा दिन सक्ने सुझावसमेत दिइएको उनले बताए।

    त्यसैगरी, कतारमै अर्को कम्पनीमा काम गर्न चाहनेहरूका लागि हालको कम्पनीबाट नयाँ रोजगारदातामा स्पोन्सरसिप हस्तान्तरण गर्ने प्रक्रियाबारे पनि जानकारी गराइएको छ। नयाँ कम्पनीमा काम सुरु गरे पनि पुरानो कम्पनीविरुद्धको मुद्दा अघि बढाउन सकिने विषयमा दूतावासले कामदारलाई परामर्श दिएको मन्त्री यादवको भनाइ छ।

    कामदारहरू थप समस्यामा नपरून् भनेर दूतावासले उनीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको पनि उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij