जीवन विज्ञान युथको दौडमा दुई हजारभन्दा बढीको सहभागिता

जीवन विज्ञान युथको दौडमा दुई हजारभन्दा बढीको सहभागिता

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । जीवन विज्ञान युथको आयोजनामा शनिबार काठमाडौँमा ५ र १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दौडमा दुई हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

    संविधान दिवसको अवसर पारेर आयोजना गरिएको उक्त दौडको मुख्य उद्देश्य मानिसलाई स्वस्थ जीवनशैलीप्रति सचेत गराउनुका साथै सामाजिक सेवासँग जोड्नु रहेको आयोजकले जनाएको छ। दौडबाट संकलित सहयोग रसुवाका बाढी प्रभावित क्षेत्रका विद्यालय तथा समुदायको सहयोगमा उपयोग गरिने बताइएको छ।

    दशरथ रंगशालाबाट सुरु भएको दौडमा १० वर्षदेखि ७० वर्षसम्मका विभिन्न उमेर समूहका मानिस सहभागी भएका थिए। प्रतियोगितामा विशेषगरी २० देखि ३० वर्ष उमेर समूहका युवाको उल्लेख्य सहभागिता थियो।

    १० किलोमिटर दौड दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर पुगेको थियो। त्यसपछि सोही मार्ग हुँदै तीनकुने, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै पुनः दशरथ रंगशालामै पुगेर दौड सम्पन्न भएको थियो।

    त्यसैगरी, ५ किलोमिटर दौड दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर हुँदै बिजुलीबजारस्थित आर्क ब्रिजसम्म पुगेको थियो। त्यहाँबाट सोही मार्ग हुँदै सहभागीहरू रंगशालामा फर्किएपछि दौड सम्पन्न भएको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै गुरुदेव रमेश नेपालले सहभागीलाई ध्यान गराएका थिए। उनले दौडले शरीरलाई मात्र स्वस्थ बनाउने नभई मन र चेतनालाई पनि सन्तुलित राख्न सहयोग गर्ने बताए। नियमित व्यायामसँगै मानसिक स्वास्थ्य र सकारात्मक सोचका लागि ध्यान तथा योगको अभ्यास आवश्यक रहेकोमा उनले जोड दिए।

    समापन कार्यक्रममा गुरुदेव एलपी भानु शर्माले दौडमा सहभागी सबैलाई धन्यवाद दिँदै नेपालले अब स्वास्थ्य र आरोग्यको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले दौडलाई केवल स्वास्थ्यसँग मात्र जोडेर नहेरी सामाजिक सेवासँग जोडिएको अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। युवापुस्तालाई स्वस्थ जीवनशैलीसँगै समाजसेवामा सक्रिय हुन पनि उनले आग्रह गरे।

    प्रतियोगिताअन्तर्गत ५ किलोमिटर पुरुषतर्फ रवीन्द्र राउत प्रथम, सुकदेव कुलुङ द्वितीय र निश्चल राई तृतीय भए। महिलातर्फ जेनिशा राई प्रथम, सुजिना बम द्वितीय र योनिका राउत तृतीय भए।

    त्यस्तै, १० किलोमिटर पुरुषतर्फ दीपक बुढाथोकी प्रथम भए। रिंकु सिञ्जाली द्वितीय र सार्थक केसी तृतीय स्थानमा रहे। १० किलोमिटर महिलातर्फ शारदा राई प्रथम, प्रिया शाह द्वितीय र स्मृति ढकाल तृतीय भए।

    प्रतियोगिताका विजेता खेलाडीलाई एलपी भानु शर्मा र जीवन विज्ञानकी अध्यक्ष देवी शर्माले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

    स्वास्थ्य, सामाजिक सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमा जोडिएको यस दौडले स्वस्थ जीवनशैलीप्रति जागरूकता बढाउनुका साथै विपद्पीडितलाई सहयोग गर्ने भावना विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ। कार्यक्रममा सहभागी विभिन्न उमेर समूहका व्यक्तिहरूले दौडमार्फत स्वास्थ्यसँगै समाजसेवामा योगदान गर्ने अवसर पाएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij