काठमाडौ । जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमका बीच नयाँ भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जिल्ला अस्पताललाई आगामी आर्थिक वर्षमा ५० शय्याबाट बढाएर १०० शय्याको बनाउने घोषणा गरेका छन्। अस्पतालको सेवा विस्तारसँगै आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको दरबन्दीसमेत थप गरिने उनले बताए।
अस्पतालको क्षमता बढाएर जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन अस्पताललाई थप आधुनिक, व्यवस्थित र सुविधासम्पन्न बनाइने उनले प्रतिबद्धता जनाए।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले संखुवासभाका साथै छिमेकी जिल्ला भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई समेत स्वास्थ्य सेवा दिँदै आएको बताए। अस्पतालबाट प्रभावकारी सेवा प्रदान गर्न भवनसँगै आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, पूर्वस्वास्थ्यमन्त्री एवं सांसद राजेन्द्र कार्कीलगायतको सहभागिता थियो। संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पूर्वसांसद राजेन्द्र गौतमले पनि अस्पताललाई १०० शय्याको बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत २७ करोड २७ लाख ८० हजार रुपैयाँ लागतमा अस्पतालको ५० शय्या क्षमताको नयाँ भवन निर्माण गरिएको हो। २०७५ असार २२ गते निर्माण सम्झौता भएको भवन विकोईरस्वामीनारायणरआशीर्वाद निर्माण कम्पनीले सम्पन्न गरेको हो।
सम्झौताअनुसार २०७८ असार २२ गतेभित्र निर्माण सकिनुपर्ने भए पनि विभिन्न कारणले करिब चार वर्ष ढिलाइ भएको थियो। प्राविधिक समस्याका कारण झन्डै दुई वर्ष निर्माण कार्य रोकिँदा आयोजना सम्पन्न हुन समय लागेको बताइएको छ।
कुल १ हजार ६ सय ४१ वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ भवनमा तीनवटा ब्लक छन्। आधुनिक संरचनासहित निर्माण भएको भवनबाट अस्पतालको सेवा प्रवाह थप सहज र व्यवस्थित हुने अस्पताल प्रमुख डा। सन्तोष देवले बताए।
नयाँ भवन सञ्चालनमा आएसँगै संखुवासभा र आसपासका क्षेत्रका नागरिकले जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।