रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु

शुक्रवार, कार्तिक २१ २०८३
शुक्रवार, कार्तिक २१ २०८३
  • काठमाडौँ । तिहार नजिकिएसँगै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी थालिएको छ। भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने मन्दिर परिसरमा अहिले रङरोगन, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर २८ को बजेटबाट मन्दिरको सरसफाइ र रङरोगन सुरु गरिएको हो। भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजाआजा गर्ने वातावरण बनाउन तयारी अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

    बालगोपालेश्वर मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्त्व बोकेको सम्पदा हो। वर्षभरि बन्द रहने यो मन्दिर भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। विशेषगरी दिदीबहिनी नभएका दाजुभाइहरू यहाँ पुगेर भगवान् बालगोपालेश्वरको दर्शन गर्ने र टीका लगाउने परम्परा छ।

    ऐतिहासिक रानीपोखरी तत्कालीन राजा प्रताप मल्लको पालामा निर्माण गरिएको हो। सन् १६७१ मा बनेको पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि काठमाडौँको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा परिचित छ।

    २०७२ सालको भूकम्पका कारण क्षति पुगेको मन्दिर पुनर्निर्माणपछि २०७७ सालमा भाइटीकाकै दिनदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको थियो।

    भाइटीकाका दिन बिहानैदेखि मन्दिरमा दर्शन गर्न र टीका लगाउन भक्तजनको भीड लाग्ने गर्छ। यसलाई ध्यानमा राख्दै मन्दिरसम्म पुग्ने पुल, मन्दिर परिसर र आसपासका क्षेत्रको सरसफाइ तथा व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ।

    भाइटीकाको अवसरमा गरिने यो तयारीले बालगोपालेश्वर मन्दिरको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij