काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले आज बिहीवार ठूलो फड्को मारेको छ। एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेपछि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ। यसअघि हिजो तोलामा ६०० रुपैयाँ र अस्ति ७०० रुपैयाँले सुनको भाउ बढेको थियो। हिजो सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।