काठमाडौं । भोटेकोशी बाढीका कारण क्षति पुगेका नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ।
बुधबार नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको भेटवार्तामा यस्तो प्रतिबद्धता जनाएका हुन्।
भेटका क्रममा मिस्रीले भोटेकोशी बाढीले नेपालको पूर्वाधारमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताए।
उनले यस विषयमा यसअघि पनि दुई देशबीच छलफल भइसकेको स्मरण गराउँदै नेपालले पुनर्निर्माणको काम अघि बढाउँदा आवश्यक सहयोग तथा सम्भावित परियोजनाबारे थप छलफल गर्न भारत इच्छुक रहेको स्पष्ट पारे।
मिस्रीले नेपाल र भारतबीचको सम्बन्धलाई विशेष र विशिष्ट भन्दै दुवै देश सुखदुःखका हरेक परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएको बताए। भोटेकोशी बाढीपछिको कठिन अवस्थामा भारतले सहयोग उपलब्ध गराएको पनि उनले उल्लेख गरे।
त्यसैगरी, दुई देशबीच लामो समयदेखि छलफलमा रहेका विषय समाधान गर्न र विभिन्न सहकार्यका पहललाई कार्यान्वयनमा लैजान दुवै पक्षका अधिकारीहरूले गरेको प्रयासको उनले प्रशंसा गरे।
उनले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी दिनमा पनि आपसी सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
मिस्रीले नेपालको पूर्वाधारमा भएको क्षतिप्रति भारत जानकार रहेको उल्लेख गर्दै पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपालले अघि सार्ने प्रस्ताव र परियोजनामा आवश्यक सहयोगबारे विचार गर्न भारत सधैँ तयार रहेको बताए।