काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाइएको विषयलाई कारबाही नभई जिम्मेवारी हेरफेरका रूपमा बुझ्न आग्रह गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ। उक्त पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ सिर्जना गरिएको हो। उनको स्थानमा एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिने निर्णयसमेत भएको छ।
मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह र सुझाव दिन विशेष पद सिर्जना गरिएको जानकारी दिए।
उनका अनुसार प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने निर्णय गरिएको हो।
पत्रकारहरूले आईजीपीको जिम्मेवारी परिवर्तन गर्नुको कारणबारे प्रश्न गर्दा प्रवक्ता पोखरेलले यसलाई कारबाहीका रूपमा नबुझ्न आग्रह गरे। उनले यो सामान्य जिम्मेवारी फेरबदल मात्र भएको स्पष्ट पारे।
सरकारले मुलुकको वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक परामर्श उपलब्ध गराउन नयाँ पद सिर्जना गरिएको जनाएको छ।