धुवाँ फाल्ने सवारी र खुला रूपमा फोहोर जलाउनेमाथि महानगरको निगरानी

धुवाँ फाल्ने सवारी र खुला रूपमा फोहोर जलाउनेमाथि महानगरको निगरानी

बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं । जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ।

    महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै वायु प्रदूषण बढाउने गतिविधि रोक्न र वातावरण स्वच्छ राख्न आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको हो।

    महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग कलकारखानाको धुवाँधुलो र खुला ठाउँमा प्लास्टिक तथा अन्य फोहोर जलाउने कार्य वायु प्रदूषणका मुख्य कारण हुन्।

    जाडोयाममा चिसोका कारण हावामा रहेका प्रदूषित कण सजिलै फैलिन नसक्ने भएकाले प्रदूषणको मात्रा बढ्ने महानगरले जनाएको छ। यसको प्रत्यक्ष असर बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति तथा दीर्घरोगीमा बढी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

    प्रदूषण नियन्त्रणका लागि महानगरले सवारीसाधन नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न र तोकिएको प्रदूषण मापदण्ड पालना गर्न भनेको छ। त्यस्तै, निर्माण सामग्री सडक तथा फुटपाथमा जथाभावी नराख्न र सामग्री ओसारपसार तथा लोड–अनलोड गर्दा धुलो नउड्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

    महानगरले प्लास्टिकलगायत फोहोर खुला रूपमा जलाउन पूर्ण प्रतिबन्ध लगाएको छ। नियमविपरीत फोहोर जलाउने तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधन सञ्चालन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

    त्यसैगरी महानगरभित्र रहेका उद्योग, कलकारखाना र अस्पताललाई ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ अनुसार वायु गुणस्तर कायम गर्न र प्रदूषण नियन्त्रण गर्ने उपकरण अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ।

    महानगरले सर्वसाधारणलाई घरबाहिर निस्कँदा तथा हिँडडुल गर्दा मास्क प्रयोग गर्न पनि सुझाव दिएको छ।

    वायु प्रदूषणको अवस्था र गुणस्तरबारे नियमित जानकारी लिन महानगरपालिका तथा सरकारका आधिकारिक वेबसाइट हेर्न सकिने सूचनामा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij