काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालमा भेटघाट सुरु गरेका छन् ।
बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा दुई देशबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी, द्विपक्षीय सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोगका क्षेत्रलाई थप विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका क्रममा भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आएका हुन् ।