काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले विदेशमा रहेका नेपालीको समस्या, आवश्यकता र उनीहरूसँग भएको ज्ञान, सीप तथा पुँजीलाई देश विकाससँग जोड्नुपर्ने बताएकी छन् ।
बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै भण्डारीले विदेशमा रहेका नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने बताइन् ।
उनले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेले पनि विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभव पनि देशका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरिन् ।
विदेशमा सिकेको सीप र अनुभवलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रको विकासमा उपयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
भण्डारीले प्रवासी नेपालीहरू आफू बसेको देशमा नेपालको पहिचान र प्रतिष्ठा बढाउने प्रतिनिधि भएको बताउँदै उनीहरूको व्यवहार र कामबाट नेपालको इज्जत प्रतिबिम्बित हुने धारणा राखिन् । उनले सम्बन्धित देशको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी तथा व्यावसायिक दक्षताका साथ काम गर्न पनि आग्रह गरिन् ।
विदेशमा रहेका नेपाली, विशेषगरी श्रमिकहरूले भोग्दै आएका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिइन् । श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी र सम्झौताविपरीत काममा लगाउनेजस्ता समस्या अझै रहेको उनको भनाइ थियो ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्ने बताउँदै उनले श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताइन् । विदेशमा समस्यामा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई पनि राज्यले प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।
त्यस्तै, नेपालमा रोजगारीका अवसर सिर्जना गर्न प्राकृतिक स्रोतमा आधारित उद्योग, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिज र पर्यावरणमैत्री पर्यटनको विकास गर्नुपर्ने उनले बताइन् । यसबाट आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलतालाई उपयोग गर्नुपर्ने भण्डारीले बताइन् । उनीहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहन गर्न सरकारलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा भण्डारीले नेकपा एमालेले जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शनमा लोकतान्त्रिक प्रणालीको स्थापना, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको बताइन् ।
पार्टीका उपलब्धि र कामबारे सही सूचना प्रवाह गर्नुपर्ने उल्लेख गर्दै उनले एमालेबारे फैलाइएका भ्रम, गलत सूचना र अफवाहलाई तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने धारणा राखिन् । विदेशमा रहेका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र दलहरूबारे तथ्यपरक सूचना प्रवाह गर्दै स्वस्थ बहसको वातावरण बनाउन पनि उनले आग्रह गरिन् ।
प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुनेछन् । दुई दिनसम्म चल्ने अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको समापन समारोहलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।