एनपीएल : कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

एनपीएल : कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।

    कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। त्यस्तै, हुसेन तलातले ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रनको योगदान दिए। काठमाडौँका कप्तान करण केसीले दुई विकेट लिए।

    प्रतियोगितामा कर्णालीको यो तेस्रो खेल हो। यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गरेको थियो।

    यता काठमाडौँ गोर्खाजको भने यो दोस्रो खेल हो। पहिलो खेलमा काठमाडौँ जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो।

    आजै एनपीएलको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरमा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

    चितवनको यो तेस्रो खेल हो। चितवनले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो।

    त्यस्तै, सुदूरपश्चिम रोयल्सले अहिलेसम्म तीन खेल खेलिसकेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगर किङ्ग्ससँग ३५ रनले पराजित भएको थियो।

    आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij