काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
टस जितेको काठमाडौँका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गर्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।
आजको खेलमा अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर काठमाडौँको पहिलो रोजाइमा परेका छन्। उनी साम हिजलेटको स्थानमा टोलीमा समावेश भएका हुन्।
काठमाडौँले आजको खेलका लागि तीन खेलाडी परिवर्तन गरेको छ। साम हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको ठाउँमा डेभिड वार्नर, सन्तोष यादव र देव शाहले खेल्ने भएका छन्।
यता कर्णाली याक्सले भने टोलीमा एक जना खेलाडी परिवर्तन गरेको छ। बंगलादेशका अकबर अलीको स्थानमा जिशान अलामलाई पहिलो रोजाइमा राखिएको छ।
प्रतियोगितामा कर्णाली याक्सले यसअघि खेलेका दुवै खेल जित्दै चार अंक जोडिसकेको छ। आजको खेल जितेर टोली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।
अर्कोतर्फ, काठमाडौँ गोर्खाज भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। त्यसैले आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ काठमाडौँ मैदानमा उत्रिएको छ।