काठमाडौँ । बिचौलियासँग सम्पर्क र भेटघाट गरेको आरोप लागेका न्यायाधीशहरूबारे छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) आज पनि बस्ने भएको छ।
यसअघि गएको शुक्रबार बसेको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा। मनोज शर्माको नाम उल्लेख गरेको विषय र न्यायाधीश हरि फुयालले सापकोटासँग भेट गरेको प्रसङ्गलाई लिएर न्यायाधीशहरूले प्रश्न उठाएका थिए।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि अदालतमा देखिएका विवाद र विकृति समाधानका लागि संसदीय प्रक्रियाबाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिइसकेको छ। शनिबार बसेको पार्टी बैठकले यस्तो निर्णय गरेको थियो।
शुक्रबारको पूर्ण बैठकमा सहभागी केही न्यायाधीशले घटनाको वास्तविकता पत्ता लगाउन उच्चस्तरीय आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए।
बिचौलियाको आरोप लागेका सापकोटासँग न्यायाधीशले मुद्दासम्बन्धी विषयमा भेटघाट गरेको कुरा सार्वजनिक भएपछि यो विषयले व्यापक चर्चा पाएको छ।
घटनालाई लिएर संसद्, सर्वोच्च अदालत, सत्तारुढ दल रास्वपासहित अन्य राजनीतिक दल, नागरिक समाज तथा नेपाल बार एसोसिएसनलगायत क्षेत्रबाट चासो व्यक्त भइरहेको छ।
आज बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकले विवादबारे थप छलफल गर्दै आगामी कदमका विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।