काठमाडौ । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) का अनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक र दुई जना बंगलादेशी नागरिक छन्। त्यस्तै, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिकको पनि मृत्यु भएको छ। बाँकी तीन जनाको राष्ट्रियता भने खुलाइएको छैन।
आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।
घटनाका कारण विमानस्थलका भौतिक संरचनामा समेत क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्। आक्रमणपछि सुरक्षा जाँच र क्षतिको मूल्यांकनका लागि विमानस्थलको सञ्चालन केही समयका लागि बन्द गरिएको थियो।
यसअघि बिहीबार पनि सोही विमानस्थलमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा तीन जना साउदी नागरिकको मृत्यु भएको थियो भने केही व्यक्ति घाइते भएका थिए। लगातार भएका घटनाले विमानस्थलको सुरक्षा व्यवस्थामाथि थप चिन्ता बढाएको छ।
यस घटनामा हालसम्म कुनै पनि नेपाली नागरिक प्रभावित भएको जानकारी प्राप्त नभएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरबमा कार्यरत नेपाली नागरिकको अवस्थाबारे थप जानकारी लिने काम भइरहेको छ।
साउदी अरबमा चार लाखभन्दा बढी नेपाली आप्रवासी कामदार कार्यरत छन्। तर, किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कति नेपालीले काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन।