मेक्सिकोको कारागारमा दङ्गा हुँदा १० जनाको मृत्यु, १६ कैदी घाइते

मेक्सिकोको कारागारमा दङ्गा हुँदा १० जनाको मृत्यु, १६ कैदी घाइते

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  •  काठमाडौ । उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा भएको दङ्गामा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ कैदी र एक कैदीका परिवारका सदस्य रहेका छन्। घटनामा अन्य १६ कैदी घाइते भएका छन्।

    अधिकारीहरूका अनुसार बन्दरगाह सहर माजाट्लानमा रहेको उक्त कारागारमा कैदीका आफन्त भेटघाटका लागि पुगेका बेला विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि दङ्गा भड्किएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका क्रममा कैदीहरूले बन्दुकसमेत प्रयोग गरेका थिए।

    घटनापछि अवस्था नियन्त्रणमा लिन सेना, नौसेना, राष्ट्रिय सुरक्षा गार्ड र राज्यका सुरक्षा निकाय परिचालन गरिएको थियो। करिब एक हजार ८०० कैदी रहेको उक्त कारागार अहिले सुरक्षा निकायको नियन्त्रणमा रहेको अधिकारीहरूले बताएका छन्।

    विश्लेषकहरूका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदी राखिनु, कर्मचारीको अभाव र भ्रष्टाचारजस्ता समस्याले हिंसात्मक घटना बढ्न सघाएका छन्। यसअघि गत मे महिनामा सिनालोआको राजधानी कुलियाकानस्थित कारागारमा भएको दङ्गामा सात कैदीको मृत्यु भएको थियो।

    आधिकारिक तथ्याङ्कअनुसार गत फेब्रुअरीसम्म मेक्सिकोका विभिन्न कारागारमा दुई लाख ६१ हजार ३८८ कैदी रहेका थिए।

    सिनालोआ राज्यमा सन् २०२४ सेप्टेम्बरदेखि लागुऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका दुई समूहबीच शक्ति सङ्घर्ष चलिरहेको छ। पूर्वलागुऔषध तस्कर जोआक्विन ‘एल चापो’ गुजमानका छोराहरूको समूह र पूर्वकार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बादाका समर्थकबीचको द्वन्द्वले राज्यमा हिंसा बढाएको छ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कडा कदम चाल्न मेक्सिको सरकारलाई दबाब दिँदै आएको छ। कार्टेलबीचको द्वन्द्व र कारागारभित्रका सुरक्षा चुनौतीले मेक्सिकोको सुरक्षा अवस्थामाथि थप चिन्ता बढाएको छ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij