-नवराज चौलागाईं
हामी चाहन्छौँ जीवन सुन्दर बनोस् । के हामीले सुन्दर बनाउनका लागि गर्नुपर्ने काम गरेको छौँ ? यदि छैनौँ भने जीवन सुन्दर भएन भन्ने गुनासो किन र कसका लागि त ? यो सोचनीय प्रश्न हो । आज यावत मानिसहरू क्षणभङ्गुरतामा रमाइरहेका छन् । यसले व्यक्ति र समाजलाई कुन अनि कस्तो घुम्तीमा पु¥याउला यो अर्को सोचनीय प्रश्न अल्झिरहेको छ हामीसँगै । तपाईंको चित्र र चरित्र भिन्न हुनुको कारण पनि तपाईंले जे गर्नुपर्ने हो त्यो नगरेरै हो । हामी एक थरी अपेक्षा गर्छौ तर, अपेक्षाबाट गन्तव्यमा पुग्ने कर्मचाहिँ फेरि अर्कै गरिदिन्छौँ । यसो गर्दा न त अपेक्षित नतिजा आउँछ नत जीवन खुसी हुन्छ ।
त्यसो भए जीवन खुसी र सुखी बनाउने भए अपेक्षाअनुसारको कर्म गर्नै पर्ला नि होइन ? एउटा मूर्तिकारले बाटोको ढुङ्गा टिपेर आफ्नो कार्यशालामा लैजान्छ, चारैतिर हेर्छ, पल्टाउँछ सोच्छ अनि कलाको चक्षुले मूर्तिकृत गर्न मिल्ने र चाहनाअनुरुप छिनो चलाउँछ, हम्मर हान्छ र बनाउँछ आकर्षक मूर्ति । ढुङ्गाले आकर्षक आकार र आतिथ्य पाउन मूर्तिकारको छिनो अनि हम्मरको चोट सहन्छ, पचाउँछ र उही सडकको ढुङ्गा देवता पुजिन्छ । के हामीले दुनियाँको चोट पचाएका छौँ ? के हामी पत्थर बन्न राजी छौँ ? के हम्मर र छिनोको प्रहार सहन सक्ने ताकत छ हामीसँग अनि छ त धैर्य गर्न सक्ने शक्ति ? यदि त्यसो गर्न सक्ने सामथ्र्य हामीसँग हुँदो हो त्यति बेला हामी सामान्य मान्छेबाट पूजित मान्छे बन्न पक्कै सक्छौँ ।
आफ्नै गुणगान र महिमा गानको चौतारीमा पर्खिएर मात्रै त नहुने रहेछ भनेर चिन्तनको चेतना जबसम्म हामीभित्र जाग्दैन, हामी यस्तैयस्तै गरी कुहिरोको कागका रुपमा रुमलिरहन्छौँ । जन्जालको घेरो तोड्ने र संघर्षको यात्राबाट सफलताको सगरमाथामा पाइला टेक्ने हो भने म र मेरो भन्दा माथि उठ्नै पर्छ । कहिलेकाहीँ जबर्जस्त आफूले आफूलाई निर्मम समीक्षाको भट्टीमा पकाउनु पर्छ । यसो गर्न सके हामी पाकेको अर्थात् अनुभवी बन्न सक्छौँ । सकारात्मक सोच, चिन्तन, बुझाइ, संवाद, कुराकानी साथै जीवनका बहुआयामिक क्षेत्रलाई गहिराइमा पुगेर गोता मार्ने हो भने मोती मात्र होइन मंगल भाव र मन्त्र पनि पाइन्छ । होइन भने आदर्शको आलटालमा जिन्दगी ओरालो लागेको पत्तै हुँदैन । कतै हामीले पनि त्यसै गरेर जिन्दगीलाई ओरालेतिर धकेलिरहेका त छैनौँ । आजै बुझौँ यदि त्यसो भयो भने जीवन कुरुप त बन्छ नै हामीचाहिँ कुरुपतालाई सुन्दरताको भ्रममा रमाइरहेका हुन्छौँ ।
सुन्दर जीवन संयोगको घटना होइन यो त अनुशासन इमानदारिता, नैतिकता र तपाईंको व्यवहारको नतिजा हो ।