पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात् नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात् सधैँ यी ४ कुराको राज आफूसँगै हुनु पर्छ ।
अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।
यो श्लोकमा उल्लेख भएअनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः
पहिलो कुरा
धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपार्इँलाई पैसाको समस्या छ वा घाटा भइरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाईंको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सकेसम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।
दोस्रो कुरा
चाणक्यले मनको सन्ताप अर्थात् आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुःख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाईंलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाईंको दुःख घट्नुको साटो थप बढ्छ ।
तेस्रो कुरा
जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धित कुरा । यदि तपाईंले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध बिगारिदिन वा अनैतिक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सकेसम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।
चौथो कुरा
जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाईंलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाईं थप अपमानित हुने खतरा हुन्छ ।
तसर्थ, यी माथिका कुरामा सावधानी अपनाउन सके जीवन सुन्दर बन्न सक्छ ।