नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १९ देशका २३ विदेशी चलचित्र

नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १९ देशका २३ विदेशी चलचित्र

मेगा टिभी नेपाल
बिहिवार, पौष १० २०८२
मेगा टिभी नेपाल
बिहिवार, पौष १० २०८२
  •  काठमाडौं । १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२६’का लागि यो वर्ष नेपाल सहित २० वटा देशका चलचित्र चयन भएका छन् । नेपाल बाहेक अफ्रिकी र अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ वटा लामा छोटा चलचित्रहरू यो महोत्सवका लागि चयन गरिएको छ । यो महोत्सव चलचित्र विकास बोर्ड चाबहिलमा आगामी २ माघबाट ५ माघसम्म ४ दिन आयोजना हुने भएको छ ।

    कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेका महोत्सव अध्यक्ष डा। मञ्जु मिश्रले राजधानीलाई जानकारी गराएकी छिन् । डा। मिश्रका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय तर्फ यस पटक ४० भन्दा बढी मुलुकका करिब ९० वटा चलचित्रले आवेदन दिएका थिए । महोत्सवका लागि अन्तर्राष्ट्रिय विधा तर्फ लघु चलचित्रको प्रतिस्पर्धामा १६ वटा लघु चलचित्र चयन भएका छन् ।

    जसमा इन्डोनेसियाबाट लघु चलचित्र ‘इक्लिप्से’, स्टोनियाबाट ‘अभ्तिस्तास अफ सर्भिलय’, ताइवानबाट ‘द इल्डर क्र्याब’, टर्कीबाट ‘आईएम नट वर्क एनिमोर’, सर्भियाबाट लघु चलचित्र ‘कास्ट’ चयन भएका छन् । यसै गरी संयुक्त राज्य अमेरिकाबाट यस पटक दुई वटा लघु चलचित्र फाइनलको लागि छानिएका छन् । जसमा ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’ रहेका छन् । बंगलादेश र इरानबाट पनि दुई वटा लघु चलचित्र चयन भएका छन् । जसमा बंगलादेशबाट ‘नो डाइस’, ‘लेटर अफ द फलेन लभर्स’, इरानबाट लघु चलचित्र ‘भोयउर’ र ‘द रोप’ फाइनलको लागि छानिएका हुन् ।

    महोत्सव अध्यक्ष डा। मिश्रका अनुसार यो अन्तर्राष्ट्रिय लघु चलचित्रको प्रतिस्पर्धामै फ्रान्सबाट लघु चलचित्र ‘अगस्ट १७ एट फाईभ पि एम’, श्रीलंकाबाट ‘सायाम’, अस्ट्रियाबाट ‘रेभेनान्ड’, भारतबाट ‘ब्ल्यु’, हङकङबाट लघु चलचित्र ‘पेपर रिङ’ अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । यी चलचित्रबाट एउटाले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्र सहित अभिनेता र अभिनेत्रीले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्र अभिनेता अभिनेत्री, उत्कृष्ट अन्तर्राष्ट्रिय महिला लघु चलचित्र’को अवार्डका लागि प्रतिस्पर्धा गर्ने छन् ।

    यस्तै यो महोत्सवमा अन्तर्राष्ट्रिय कथानक चलचित्र तर्फ बंगलादेशबाट ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोेष्ट डी आईभोरीबाट चलचित्र ‘साईलेन्स मोर्टेल’ अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । यी दुई मध्य एक चलचित्रले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र’को अवार्ड हासिल गर्ने पनि महोत्सव अध्यक्ष डा। मिश्रले जानकारी गराएकी छिन् ।

    यसै गरी यो महोत्सवमा अन्तर्राष्ट्रिय वृत्तचित्र तर्फ युक्रेनबाट युद्ध सम्बन्धी वृत्तचित्र ‘द स्केडुलेड अफ फाइटिङ टु लर्न’ र जर्मनीबाट ‘गर्लस् डन्ट प्ले स्पोर्टस्ट’ चयन भएका छन् । यी दुई मध्य एकले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड चुम्ने छन् ।

    यस्तै अफ्रिकन चलचित्र तर्फ इजिप्टबाट चलचित्र ‘द मंकी’, ट्युनेशियाबाट चलचित्र ‘मेट्रो पोलिस’ र मोरक्कोबाट चलचित्र ‘द चेम्बर’ गरी तीन चलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । यी चलचित्रबाट उत्कृष्ट हुनेले सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड जित्ने भएका छन् । अफ्रिका प्रतिस्पर्धामा यस पटक वृत्तचित्र भने राखिएको छैन । अर्को वर्ष पुन वृत्तचित्र राखिने पनि डा। मञ्जु मिश्रले जनाएकी छिन् ।

    यस्तै यो महोत्सवमा राष्ट्रिय तर्फ ५ वटा कथानक चलचित्र, ५ वटा लघु चलचित्र, ४ वटा विद्यार्थी चलचित्र, ३ वटा वृत्तचित्र र ३ वटा आदिवासी चलचित्र सहित नेपालबाट २० वटा लामा छोटा चलचित्र फाइनलको लागि चयन भएका छन् । यसरी यो महोत्सवमा चार दिनसम्म नेपाल सहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । महोत्सवमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा २ माघबाट ५ माघसम्म ४ दिन चलचित्र नृत्य कार्यशाला पनि आयोजना गरिँदै छ । जसमा ३० जनालाई नृत्य प्रशिक्षणमा सहभागी गराइने नृत्य प्रशिक्षण संयोजक एवम् अभिनेता गजित विष्टले जानकारी गराएका छन् । महोत्सव स्थल चलचित्र विकास बोर्डको प्रांगनमा ‘लोकेसन एन्ड कल्चर इन नेपाल’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि गरिने भएको छ । महोत्सवमा विभिन्न देशबाट करिब एक दर्जन विदेशी चलचित्रकर्मी पनि यस पटक सहभागी हुने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    लोकप्रिय
    थप समाचार

    © 2026 All right reserved to megatvnepal.com Site By : Sobij