काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहभित्र प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नसकिने बताएका छन्। उनले यस घटनाले सरकारको राज्य सञ्चालन गर्ने शैली, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
पत्रकार पक्राउ प्रकरणबारे पार्टीको धारणा तय गर्न आइतबार बोलाइएको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरे कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे।
उनले प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र गलत कामको विरोध गर्ने नीति कांग्रेसले लिएको बताए। तर नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार भए प्रतिवाद तथा प्रतिरोधमा उत्रिने उनको चेतावनी थियो।
थापाले पछिल्ला दुई दिनका घटनाक्रमले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको विषयलाई झन् गम्भीर बनाएको बताए। उनले यस्तो दृश्यले विगतको शाही शासनकालको झल्को दिएको टिप्पणी गरे।
उनका अनुसार सुरुमा प्रहरीले पत्रकार पक्राउबारे वक्तव्य जारी गरेको थियो। त्यसपछि प्रधानमन्त्री कार्यालयको सचिवालयले आफूलाई घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएको र पछि पुनः प्रहरीको अर्को वक्तव्य आएको थियो। बिहान जारी गरिएको विज्ञप्ति हटाइएको तथा प्रधानमन्त्री कार्यालयको सचिवालयबाट २८ जनाको सूची पठाइएको विवरणसमेत सार्वजनिक भएको उनले बैठकमा उल्लेख गरे।
थापाले पक्राउ परेका पत्रकार छुटे पनि घटनालाई त्यत्तिकैमा टुंग्याउन नहुने बताए। उनका अनुसार मुख्य विषय केही पत्रकार पक्राउ पर्नु मात्र नभई राज्यका निकायले नागरिकको अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेका छन् भन्ने हो।
उनले सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनालाई सामान्य प्रशासनिक त्रुटिका रूपमा व्याख्या गर्न नमिल्ने धारणा राखे। प्रहरी आफैंले निर्णय गरेर नभई माथिल्लो निकायको आदेश र निर्देशनमा सञ्चारगृह पुगेको उनको दाबी थियो।
थापाले राज्यका सबै निकायलाई राजनीतिक नेतृत्वको निजी इच्छाअनुसार सञ्चालन गर्न खोज्नु शक्तिको दुरुपयोग भएको बताए।
उनले सरकारको इच्छा नै कानुन हो र राज्यका निकायले राजनीतिक नेतृत्वको आदेश मात्रै पालना गर्नुपर्छ भन्ने सोच लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताजनक रहेको उल्लेख गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घटनाबारे गलत भएको प्रतिक्रिया दिएको प्रसंग उल्लेख गर्दै थापाले यससँग जोडिएका अन्य विषयमा समेत गम्भीर छलफल हुनुपर्ने बताए।
कांग्रेसले विगतमा पटकपटक सरकारको नेतृत्व गरिसकेको स्मरण गराउँदै उनले सत्ता सञ्चालन गर्दा आफ्नै पार्टीको विगत र वर्तमानको भूमिकालाई पनि निष्पक्ष रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे।
उनले पत्रकार पक्राउ प्रकरणलाई एउटा घटनामा सीमित नगरी राज्य सञ्चालनको शैली, प्रेस स्वतन्त्रता र नागरिक अधिकारसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।