२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

संविधानको कार्यान्वयनमा वर्तमान सरकार सफल भएको खिमलाल भट्टराईको दावी

२३ असार २०७८, बुधबार २०:२३

२३ असार २०७८, काठमाण्डौ

सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा उहाले संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको बताउनुभयो । पृथकतावादको नारा बोकेका सिके राउत तथा संविधानको विरुद्धमा सङ्घर्षमा उत्रिएको नेकपा विप्लव समूहलाई पनि मूलधारमा ल्याउन सरकार सफल भएको उहाले बताउनुभयो । दलीय व्यवस्थामा सांसद स्वतन्त्र नहुने भन्दै उहाँले संसद्लाई दलीय ह्विप नलाग्ने भए त्यो निर्दलीयता हुने बताउनुभयो । राजनीतिक विषयको अदालतमा ओइरो लागेको भन्दै उहाँले अदालतले पनि केही राजनीतिम मुद्दामा पूर्वाग्रही ढङ्गले फैसला गरेको बताउनुभयो ।
बैठकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कोरोनाविरुद्धको खोप ल्याउने सन्दर्भमा सरकारको पहल पर्याप्त नभएको आरोप लगाउनुभयो । उहाँले नेपाल सरकारले खोपका लागि कुनै प्रयास नगरेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद राधेश्याम पासवानले संविधानले जातीय विभेद उन्मूलन गरेको भए पनि व्यवहारमा कार्यान्वयन नभएको बताउनुभयो ।
बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गर्नुभयो । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV