२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

अल्टिमेटम आज सकिँदै, माधव पक्ष अझै गलेन, ओलीलाई तनाव

२१ असार २०७८, सोमबार १२:३६

२१ असार २०७८, काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।
गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिनुभएको थियो । ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ । यसो भएमा अब ओलीले माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नुहुनेछ । यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ । हिजो बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गर्नुभएको थियो । उहाँहरुको आग्रहलाई नेता नेपालले सकारात्मक भन्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भने देखिएको छैन । साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएका छैनन् । यो प्रयास असफल भएपछि ओली पक्षले हिजो साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएको थियो । ओलीको बोलावटपछि नेता रावल बालुवाटार गएपनि उनीहरुबीच के सम्वाद भयो भन्ने खुलेको छैन । बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गर्नुभएको थियो । स्रोतका अनुसार हिजै नेता नेपालले आफू निकटका नेताहरुसँगको कुराकानीमा एमाले एकता कायम राख्ने नराख्ने भन्ने बल ओलीको हातमा रहेको भन्दै उनी एकताप्रति इमान्दार नभएको निश्कर्ष सुनाउनुभएको थियो । साथै उहाँले मुखले ओलीले एकताका लागि प्रयास गरेको देखाउन खोजेपनि व्यवहारमा एकताको पक्षमा नरहेको स्पष्ट भएको बताउनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV