हजुरलाई नमस्ते परोपकारी अभियानको छैठौं चरणको रक्तदान धादिङमा सम्पन्न
२१ मंसिर २०७७, आईतवार १२:४४
काठमाडौ। । हजुरलाई नमस्ते परोपकारी अभियानको छैठौं चरणको रक्तदान कार्यक्रम बेनिघाट रोराङ्ग गाउँपालिकामा सम्पन्न भएको छ ।
धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाको वडा नम्बर २ विकट गाउँ ताल्तीमा शनिबार गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष एवम् समाजसेवी तारा बहादुर कुवँरले भौगोलिक हिसाबले अत्यन्त विकट गाउँ ताल्तीमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना हुँदा स्थानीय बासिन्दाहरुमा रक्तदान पनि गर्नुपर्छ भन्ने धारणाको विकास भएको बताउँदै आगामी दिनमा अझ बढि उत्साहजनक सहभागितामा रक्तदान गर्ने प्रतिबद्धता स्थानीयले गरेको जानकारी दिए ।
रगत संकलन भन्दा पनि विकट गाउँगाउँ पुगेर रक्तदान सम्बन्धि जनचेतना फैलाउन पाउँदा हामी अत्यन्त खुशी भएको समाजसेवी कुवँर बताउँछन् । कार्यक्रममा २४ जनाले रगतदान गरेका थिए । कार्यक्रममा अभियानमा सहयोग पुर्याउने समाज सेवि तुलसी जङ थापा, इश्वर रावत, रामकृष्ण अधिकारी,गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी, उपाध्यक्ष देबि प्रसाद सिलवाल, वडा २ अध्यक्ष टन्क बहादुर थापा लगायत नेरेसो केन्द्रिय रक्तसञ्चार टिम सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
यसअघि, लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि तारा बहादुर कुवँरकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँचौ पटक सम्मको रक्तदानको आयोजना काठमाडौंमा गरिएको थियो ।
साथै, समाजसेवी कुवँरले चितवनको माडीस्थीत कुसुम खोलामा निकुञ्जले आगो लगाईदिएको चेपाङ परिवारको घर पुनःनिर्माण अभियान पनि जारी रहेको बताएका छन् ।

