सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन मन्त्री उमाशंकर अरगरियाको निर्देशन
३१ जेष्ठ २०७८, सोमबार १८:०२
जेठ ३१ २०७८, सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।
सोमबार काठमाडौको न्युरोडस्थीत निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । उहाले निगममा देखिएको कमीकमजोरी सच्चाउन एक साताको समय दिदै त्यसपछि आफुले हस्तक्षेप गर्ने चेतावनी दिनुभयो । निगमसंग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उहाले बताउनुभयो । उहाले बिगत एकबर्षदेखि आन्तरिक उडान नहुनुको बस्तुनिष्ट कारण खोजिने उल्लेख गर्नुभयो ।
कोरोनाले हवाइसेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुखमात्र नताकि निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिनुभयो । त्यस्तै उहाले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको बिज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिनुभयो । उहाले बिगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजारहिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिनुभयो । सो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उहाले बताउनुभयो ।
कोरोनाको दोश्रो संक्रमणका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जिकिर जनाएको छ ।


