एमाले पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी
२ श्रावण २०७८, शनिबार १८:५२
२०७८ साउन २ गते, काठमाण्डौं
नेकपा एमालेका नेताहरु पार्टीलाई एकतावद्ध बनाउने प्रयासमा लागेका छन् । पार्टीका अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच दुरी बढेका बेला एमालेका नेताहरु कार्यदलले बुझाएको सहमतिपत्रलाई कार्यान्वयनमा लैजान छलफलमा जुटेका हुन् ।
शनिबार सिंहदरबारमा भएको एमालेका स्थायी कमिटी सदस्यहरुको छलफलले कार्यदलको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालेको छ । पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको उनीहरुको भनाई छ । एमाले नेता सुवास नेम्वाङले पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिने बताउनुभयो । उहाले एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सबल बनाउन सकिने भन्दै १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगको बताउनुभयो ।
त्यस्तै एमाले नेता गोकर्ण बिष्टले पार्टीका सबै नेता, कार्यकर्ताहरुको योगदानबाट निर्मित पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न गरेको बताउनुभयो । उहाले पार्टी कार्यकर्तामा देखा परेको, अन्योलता र चिन्तालाई दूर गर्नका लागि आफुहरु लागिपर्ने धारणा राख्नुभयो ।
यसअघि शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको थियो । यसैबीच एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

