सत्ता गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिष्थापन गर्ने
२७ श्रावण २०७८, बुधबार ०८:२५
२७ साउन २०७८ काठमाण्डौं
सत्ता गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिष्थापन गर्ने भएको छ ।
प्रतिनिधि सभा बैठकमा श्वेतपत्र प्रस्तत गर्नै अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताएका हुन् । नयाँ बजेट ल्याउने बताएका अर्थमन्त्री शर्माले कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गरे । भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड–१९ महामारीले पुनः शिथिल बन्न पुगेको अर्थमन्त्री शर्माले जानकारी गराए । अर्थमन्त्री शर्माले तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले देशको अर्थतन्त्र निकै कमजोर स्थितिमा रहेको देखाए । कोभिड महामारीमा ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई सहि दिशामा लैजान नसकेको उल्लेख गरिएको छ । ८ प्रतिशतको आर्थिक बद्धि राखेको ओली सरकारले ऋणात्मक नतिजा दिएको र पोहोर पनि सात प्रतिशत राखेर २ प्रतिशतभन्दा कम नतिजा दिएको अर्थमन्त्रीले बताएका छन् । श्वेत पत्रमा जथाभावी आयोजना बाँड्दा सरकारलाई खर्बौको भार थपिएको उल्लेख छ । श्वेतपत्रमा सरकारले वैदेशिक स्रोतको परिचालन गर्ने विषयमा सरकार असफल भएको उल्लेख छ । प्रत्येक वर्ष सरकारले लिने वैदेशिक ऋण परिचालनको लक्ष्यमा ५० प्रतिशत पनि प्रगति हासिल गर्न सकेको छैन । बजेट कार्यान्वयन क्षमतासँग मेल नखाने गरी प्रचारात्मक ढङ्गले बजेटको आकार वृद्धि हुँदै आएको उनले बताएका छन् । अर्थमन्त्री शर्माले ऋण बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे । श्वेतपत्र अनुसार आन्तरिक ऋण बढेर ८ खर्ब १ अर्ब पुगेको छ । यस्तै बाह्य ऋण बढेर ९ खर्ब २८ अर्ब पुगेको छ। कुल ग्राह्रास्त उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने उनले बताए । अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको भन्दै आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उनले उल्लेख गरे ।

