२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दै

२७ श्रावण २०७८, बुधबार ०७:४३

२७ साउन २०७८ काठमाण्डौं

लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकले लुम्बिनी प्रदेशमा चार महिनादेखि जारी सत्ता राजनीतिको छिनोफानो देखिन्छ ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरे । उनको नियुक्तिसँगै विपक्षी चार दलको गठबन्धनले अल्पमतको असंवैधानिक सरकार भन्दै बहुमतसिद्ध गर्न माग गर्दै आएको थियो । र, सत्ता पक्ष र विपक्षीबीच सरकार टिकाउने र नयाँ सरकार बनाउने कसरत निरन्तर जारी रहेको छ । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेनन् । सरकारलाई साथ दिएका तीन जना सांसदलाई जनता समाजवादी पार्टीले साउन १५ गते निष्कासन गरेपछि सरकार स्पष्ट अल्पमतमा परेको थियो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल सर्वोच्च पुगे पनि उनीहरुको पद थमौतीका लागि सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि पोखरेल सरकार थप संकटमा परेको थियो । विपक्षी गठबन्धन अविश्वास प्रस्ताव आज नै टुंग्याउने तयारीमा छ । लुम्बिनीमा सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत नै आवश्यक पर्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV