२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

युरोकप फुटबलको सेमिफाइनलमा इंग्ल्याण्ड प्रवेश

२० असार २०७८, आईतवार १२:२६

२० असार २०७८, काठमाण्डौं

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक–एक गोल गरे । स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे । दोस्रो हाफमा भने इंग्ल्यान्डले लगातार गोल गर्यो । ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरे । खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे । त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को जित दिलाए । राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । यसैगरि गएराति नै भएको अर्को खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा गएराति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् । दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २–१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेक रिपब्लिकको हार भने टार्न सकेन । डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् । अब डेनमार्कले सेमिफाइनलमा युक्रेन र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्समाथि २–० गोलको जित निकालेको थियो । डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV