नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक सम्पन्न
७ असार २०७८, सोमबार १५:१४
७ असार २०७८, सोमबार
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आकस्मिक बैठकले दुई वटा निर्णय गरेको छ ।
आज विहान बसेको भर्चुअल बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय गरेको हो । भर्चुअल विधिबाट बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उहाँहरुलाई कारवाही गरेको छ । स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो । यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन । आजको बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको नेता देव गुरुङले जानकारी दिनुभयो । यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ समेत गरेको बताइएको छ ।

