युरोकपमा आजदेखि नकआउट चरणका खेल हुँदै, पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै
१२ असार २०७८, शनिबार ०८:३८
१२ असार काठमाण्डौं
जारी युरोकपमा आजबाट नकआउट चरणका खेलहरु हुनेभएका छन् । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आजबाट सुरु हुन लागेका हुन् ।
नकआउट चरणका खेलको पहिलो दिन आज राति दुई खेल हुने छन् । जस अन्र्तगत पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । यस खेलबाट दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । डेनमार्क समूह ’बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २–१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो । वेल्स समूह ’ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा वेल्स इटालीसँग १–० ले पराजित भएको थियो । डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । इटाली समूह ’ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा इटालीले वेल्सलाई १–० ले हराएको थियो । अष्ट्रिया भने समूह ’सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो । पहिलो पटक नकआउट चरणमा पुग्ने क्रममा अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो । तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो । अन्तिम खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

