भारतमा कोइला निकासी खुला तेश्रो मुलुकबाट कोईला आयात गर्नु पर्ने बाध्यताबाट नेपाल मुक्त
२८ जेष्ठ २०७८, शुक्रबार १४:२०
जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं
भारत सरकारले कोइला निकासी खुला गरेपछि तेश्रो मुलुकबाट कोईला आयात गर्नु पर्ने बाध्यताबाट नेपाल मुक्त भएको छ ।
उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले लगाएको कोइला निकासीको प्रतिबन्धलाई खुलाउन पहलका लागि आग्रह गर्दै आएका थिए ।व्यवसायीका अनुसार अहिलेसम्म नेपाली व्यवसायीले तेस्रो मुलुकबाट कोइला ल्याइरहेका छन् । अब व्यवसायीका लागि कोइला किन्न दुईवटा ‘अप्सन’ भएको छ । तेस्रो मुलुकसँगै भारतबाट ल्याउने सुविधा भएको छ । यद्यपि, तेस्रो मुलुकबाट आउने कोइलाको तुलनामा भारतीय कोइला कम गुणस्तरको रहेको उद्योगीहरु बताउँछन् । कोइलाकै कारण नेपालको सिमेन्ट उत्पादन महँगो हुने गरेको उद्योगीहरुले बताउँदै आएका थिए । सिमेन्ट उद्योगले तेस्रो मुलुकमा उत्पादित कोइला भारतमा खरिद गरेर नेपाल आयात गर्न पाउनुपर्ने माग गरिरहेका थिए । हाल सिमेन्ट उद्योगले दक्षिण अफ्रिका र इन्डोनेसिया लगायतका तेस्रो मुलुकबाट कोइलाको आयात गरिरहेका छन् । तेस्रो मुलुकको यही कोइला भारतका व्यवसायीबाट नेपालमा आयात गर्न पाउनुपर्ने माग सिमेन्टका उद्यमीले गरेका हुन् । तर, ८ तारिखबाट भारत सरकारले कोइला निर्यातको बाटो खुला गरेसँगै नेपाली उद्योगहरुलाई थप विकल्प पनि ख्ुलेको हो । क्लिङ्कर उत्पादन गर्ने सिमेन्ट उद्योगका लागि चुनढुङ्गापछिको मुख्य सहायक कच्चा पदार्थ कोइलानै हो । समुन्द्रपारबाट कोइला ल्याउँदा कम्तीमा २ महिना लाग्छ । भारतीय बजारमा खरिद गरेको २ दिनपछि नेपालको कुनै पनि कुनामा पुर्याउन सकिन्छ ।


