तोकिएको मितिमा महाधिवेशन गर्न नेता पौडेल पक्षका जिल्ला सभापतिहरुको माग
२७ श्रावण २०७८, बुधबार ०७:४८
२७ साउन २०७८ काठमाण्डौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् ।
सोमबार र मंगलबार काठमाडौँमा भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति भदौ १७, १८ र १९ गते महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् । भेलाले क्रियाशील सदस्यहरुको छनौटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर विवादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार पार्टीको वैधानिकता बचाउन जुन छिटो विधि हुन्छ त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिइएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको समेत बताइएको छ । पार्टीको विधान भन्दा माथि देशको संविधान रहेकोले संविधान विपरीत हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको छ । भेलाले निकालेका निष्कर्षलाई औपचारिक रुपमा आज विहान सार्वजनिक गर्ने तयारी जिल्ला सभापतिहरुको छ ।

