प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको पूर्वमन्त्री बाँस्कोटाको आशंका
२९ जेष्ठ २०७८, शनिबार ०९:५२
२८ जेष्ठ २०७८, शनिबार
पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताउनुभएको छ ।
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गर्नुभएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनुभयो । बाँस्कोटाले बैद्यको अभिव्यक्तिबारे काँग्रेसको आधिकारिक धारणा समेत माग गर्नुभएको छ । काँग्रेसका बागमती प्रदेशसभा सदस्य वैद्यले शुक्रबारको बैठकमा महात्मा गान्धीका हत्यारा गोड्सेको नाम लिँदै खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिने भएकाले अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने बताउनुभएको थियो । उहाँले गोड्से बन्न अरु कोही तयार नभए म आफै बन्छु समेत भन्नु भएको थियो । वैद्यको यो अभिव्यक्तिलाई लिएर काँग्रेस र एमालेभित्र अहिले हंगामा मच्चिएको छ ।


