केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनः सक्रिय
११ श्रावण २०७८, सोमबार १३:१०
११ साउन २०७८, काठमाण्डौं
केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनः सक्रिय हुने भएको छ ।
मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजिक आउने क्रम सुुरु भएकाले आजदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । आज देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

