आज विश्व योग दिवस
७ असार २०७८, सोमबार १५:१८
७ असार २०७८, सोमबार
आज विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै यो दिवस मनाउन थालिएको हो । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउने योग गुरुहरु बताउँनुहुन्छ । यो दिवसले नेपालमा पनि प्रथमिकताका साथ स्थान पाउने गरेकोछ । यस वर्ष भने कोरोना महामारीका बीच निशेधाज्ञा जारी रहेकोले कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएका छैनन् । यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै शुभकामना सन्देश समेत दिनुभएको छ । राष्ट्रपति भण्डारीले कोरोना महामारी जारी रहेको अवस्थामा योगको सान्दर्भिकता अझै बढेको बताउनुभएको छ । उहाँले योग एवंम तन्त्रवद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्नसक्ने विस्वास व्यक्त गर्नुभएको छ । यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन योगविधि महत्वपूर्ण हुने बताउनुभएको छ । योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै उहाँले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको बताउनुभएको छ ।

