आज राती नेपाल अष्ट्रेलियासँग भिड्दै
२८ जेष्ठ २०७८, शुक्रबार १४:३७
जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं
विश्वकप २०२२ र एसिया कप २०२३ अन्तर्गतको संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज राती नेपाल अष्ट्रेलियासँग खेल्दैछ ।
कुवेत सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुँदैछ । नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डनसंग ३–० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि नेपालले प्ले अफको सहारा लिनु पर्ने छ ।
यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।
समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् । उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको नतिजा पनि देखिन थालेको बताए । अष्ट्रेलियाका प्रशिक्षक ग्रेहम आर्नोल्डले समेत नेपाली टिमको खेल्ने शैली परिवर्तन भएको र मिहेनती टिम भएको प्रतिक्रिया दिएका छन् । आजको नेपालको प्रतिस्पध्र्दी अष्ट्रेलिया आफ्नो समूहमा लगातार ६ खेल जित्दै शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ ।


