अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ प्रधानमन्त्री
२५ श्रावण २०७८, सोमबार ०७:३९
२४ श्रावण २०७८, काठमाण्डौं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सोमबार ‘विश्व आदिवासी दिवस’ का अवसरमा नेपाल र नेपालबाहिर बस्ने नेपाली आदिवासीहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सरकार अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । साथै प्रधानमन्त्री देउवाले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने काम गर्ने उल्लेख गर्नुभएको छ ।
नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

