प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी
१४ भाद्र २०७८, सोमबार १८:२३
१४ भाद्र, काठमाण्डौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ ।
सोमबार काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने दावी गर्नुभएको हो । संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले भनेको पनि उहाले स्मरण गर्नुभयो ।
प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले षड्यन्त्रले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताउनुभयो ।
ओली नेतृत्वको सरकारमा बेला संघीयता लगाएतका उपलव्धीहरु जोखिममा जाने खतरा भएको भन्दै उहाले अरु कसैलाई मत दिदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गर्नुभयो । प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका बिषयमा टुङ्गो लाग्ने बताउनुभयो ।
प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

