सबैसँग सहकार्य गर्दै अघि बढ्ने पाँच राजनीतिक दलको निष्कर्ष
२८ असार २०७८, सोमबार २०:४२
२८ असार २०७८, काठमाण्डौं
पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले सर्वोच्चको आदेशलाई ऐतिहासिक भन्दै सवैसंग सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।
सोमबार कोटेश्वरमा बसेको बिपक्षी गठबन्धन बैठकले सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको भन्दै स्वागत गरेको हो । बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । अब सर्वोच्चको फैसला अनुसार नै देउवाको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाले अव सवैसंग सहकार्य गर्दै अघि बढ्ने जानकारी दिनुभयो । त्यस्तै कांग्रेस नेता बालकृष्ण खाँडले मंगलबार सानो आकारको मन्त्रिमण्डल बन्ने बताउनुभयो । उहाले आगामी दिनमा एमालेको माधव पक्षसंगको सहकार्य निरन्तर जारी रहने जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रका नेता देव गुरुङले संविधान र संसदको रक्षा गर्ने सवालमा सर्वोच्चको आदेश ऐतिहासिक भएको जिकिर गर्नुभयो । सरकार गठबन्धका बारेमा सवैलाई समेटेर अघि बढ्ने प्रयास गरिने उहाको भनाई छ ।
त्यस्तै एमाले नेता रघुजी पन्तले सर्वोच्चको आदेशपछि नयाँ परिस्थीति सिर्जना भएको बताउनुभयो । अव पार्टीलाई मजबुद बनाउनका लागि लाग्ने र नयाँ बन्ने सरकारले देश र जनताका लागि काम गर्न एमाले बरिष्ठ नेता माधव कुमार नेपालले शुभकामना दिनुभएको पन्तले बताउनुभयो । उहाले नया बन्ने सरकारले सवैलाई समेट्नुपर्नेमा जोड दिइएको जिकिर गर्नुभयो ।
त्यस्तै बैठकमा एमाले बरिष्ठ नेता नेपालले आफु सदैव लोकतन्त्रको पक्षमा रहेको र लोकतन्त्र खतरामा परे सदैव लड्न तयार रहेको बताउनुभएको पन्तले जानकारी दिनुभयो । नेता नेपालले आफु सदैव एकलौटी गर्नेको विरुद्धमा रहेको बताउनुभएको पनि नेता पन्तले जानकारी दिनुभयो ।


