महन्थ ठाकुर नेतृत्वको समूहले दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ प्रस्ताव
४ भाद्र २०७८, शुक्रबार १९:०२
४ भाद्र, काठमाण्डौं
नेकपा एमालेबाट अलग्गिएको माधव कुमार नेपाल समूहको पार्टी नाम परिवर्तन गर्दै नेकपा (एकिकृत समाजवादी्) प्रस्ताव गरिएको छ ।
नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएपनि अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् । नेता पाण्डेले निर्वाचन आयोगको परिमार्जित नियमावली अनुसार केहि अनुसुची परिवर्तन गर्नुपर्ने भएकाले आयोगमा आएर सच्चाइएको बताउनुभयो । उहाले पार्टी नयाँ नाम पनि आयोगमा दर्ता गर्न निवेदन दिएको बताउनुभयो । पार्टीको चूनाव चिन्हका बारेमा भने अझै टुङ्गो लाग्न नसकेको उहाको भनाई छ ।
यस्तै जसपाबाट बाहिरिएको महन्थ ठाकुर नेतृत्वको समूहले दलको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ प्रस्ताव गरिएको छ । यसअघि जसपा नेपाल (लोकतान्त्रिक) प्रस्तावित गरिएपनि अर्को दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएपछि नाम परितर्वन गरिएको नेता केशव झाले बताउनुभयो । उहाले पार्टीको अध्यक्षमा महत्थ ठाकुर र बरिष्ठ नेतामा राजेन्द्र महत्तो र शरतसिंह भण्डारीलाई राखिएको जानकारी दिनुभयो । उहाले ३१ सदस्यीय कार्यकारिणी बनाइएको बताउनुभयो ।
निर्वाचन आयोगले दुवै दलका नेताहरुको सनाखत गरेपछि दल दर्तालाई आधिकारिता दिने जनाएको छ ।

