२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

चितवनमा एक वर्षमा झण्डै २ हजार ४०० उद्योग थपिए

२४ श्रावण २०७८, आईतवार १९:३६

२४ साउन २०७८,चितवन
चितवनमा एक वर्षमा झण्डै २ हजार ४०० उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्ष ०७७र०७८ मा सबै प्रकृतिका उद्योग गरी २ हजार ९९६ ओटा उद्योग दर्ता भएका हुन् । जिल्लामा गत आवमा दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी कृषिजन्य एक हजार ७०२ उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम एउटा मात्र उद्योग उर्जामुलक उद्योग दर्ता भएको छ ।
सेवामुलक उद्योग २९० ओटा, उत्पादनमुलक उद्योग २४५ ओटा, पर्यटनमुलक उद्योग १५८ ओटा दर्ता भएका छन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्र सरकारको र वित्तीय संस्थाहरुको समेत प्राथमिकताको क्षेत्र परेकोले कृषिजन्य उद्योगको संख्या अन्य उद्योग क्षेत्रको भन्दा बढी भएको बताउनु भयो । कृषि क्षेत्र परिवारको कुनै पनि सदस्यले न्यूनतम ज्ञानको आधारमा पनि गर्न सकिने भएकोले र चितवन कृषिको लागि उर्वर भूमि भएकोले पनि कृषिजन्य उद्योग दर्ता गर्नेको संख्या अन्यको तुलनामा बढी देखिएको हो । गत आवमा खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग शीर्षकमा भने उक्त वर्ष कुनैपनि उद्योग दर्ता नभएको तथ्यांक छ ।
गत, आ।व मा दर्ता भएका उद्योगहरुको स्थिर पूंँजी २ अर्ब ९६ करोड ९६ लाख ३२ हजार रुपैयाँ, चालू पूँजी २ अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूँजी ५ अर्ब ६३ करोड २० लाख २५ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । ती उद्योगहरुको वार्षिक उत्पादन क्षमता १६ अर्ब १३ करोड ३६ लाख ७ हजार ५०० रुपैयाँ बराबर रहेको छ ।
कार्यालयका लेखा प्रमुख नारायण लम्सालले लकडाउन र निषेधाज्ञाका कारण गत आवमा झण्डै ६ महिना कार्यालय बन्द भएकोले अघिल्ला वर्षहरु भन्दा गत आवमा उद्योग दर्ताको संख्यामा कमी आएको बताउनुभयो । सोही अनुसार कार्यालयको राजस्व संकलन, पूंँजी, उत्पादन क्षमतामा समेत ह्रास आएको उहाँको भनाइ छ ।
त्यस्तै, गत आवमा दर्ता भएको उद्योगहरुमा पुरुष उद्यमीको संख्याभन्दा बढी महिला उद्यमीको संख्यामा वृद्धि भएको पाईएको छ । कार्यालयको तथ्यांक अनुसार सो आवमा १ हजार ४६९ महिला उद्यमी र १ हजार १५२ पुरुष उद्यमी थपिएका छन् ।
उक्त वर्षमा थपिएका उद्योगहरुमा महिला र पुरुष गरी ७ हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको हो । उद्योगमा हाल ५ लाख देखि पाँचकरोड पूँजी भएका उद्योगहरु दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ ।
कार्यालयमा हाल पांँच लाख देखि २० लाख पूँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैयाँ, २० लाख ५० लाख पूँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाखदेखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पाँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV