एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
१६ असार २०७८, बुधबार ०८:०३
१६ असार २०७८, काठमाण्डौं
नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बैठक बस्दैछ ।
एमालेको संस्थापन पक्षले जेठ २ मा फर्किने निर्णय गरेसँगै असन्तुष्ट पक्षले यसबारे आन्तरिक छलफल गरेर औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।
संस्थापन पक्षले गरेका निर्णय माथिको छलफलकालागि भोलि स्थायी कमिटी सदस्यको बैठक बस्ने एमाले उपाध्यक्ष समेत रहनुभएका खनाल–नेपाल पक्ष निकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले आन्तरिक छलफलबाट निष्कर्ष निकाली संस्थापन पक्षका निर्णय माथि आफ्नो धारणा सार्वजनिक गर्नेछ । एमालेको हिजो साँझ बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो भने असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेताहरुले केन्द्रीय कमिटीको बैठकबाट नै एमालेभित्र देखिएको विवादका विषयमा निर्णय हुने बताइएको छ ।

