नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने भारतीय कम्पनीको प्रस्ताव
११ पुष २०७५, बुधबार १०:३६
९ पुस, काठमाडौं । भारतको एनटीपसी विद्युत ब्यापार निगम (एनभीभीएन)ले नेपालसँग १५ सय मेगावाट विजुली खरिद गर्ने प्रस्ताव गरेको छ । दिर्घकालीन रुपमा विजुली किन्ने गरी भारतले प्रस्ताव गरेको हो ।ऊर्जामन्त्री वर्षमान पुन अनन्तले एनभीभीएनको प्रस्तावले नेपालमा विजुली उत्पादन गर्दा बजारको अभाव हुँदैन भन्ने प्रष्ट पारेको बताए । एनभीभीएन भारतीय सरकारी स्वामित्वको नोडल एजेन्सी हो ।
जसमार्फत नेपालले भारतसँग विजुली पनि किनिरहेको छ । एनभीभीएनले भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णालीबाट उत्पादन गर्ने ५ सय मेगावाट विजुली खरिद गरेर बंगलादेश पठाउन खोजेको छ ।यस्तै उसले अन्य आयोजनाबाट नेपालमा भविष्यमा उत्पादन हुने विजुली पनि बिन्ने इच्छा देखाएको हो ।
मन्त्री पुनले भारतले ल्याएको नयाँ विद्युत आयात-निर्यात निर्देशिकाले भारतमा मात्रै नभएर बंगलादेशसँग पनि विजुली बेच्ने बाटो खुलेको बताए ।उनले बंगलादेश पनि नेपालबाट विजुली किन्न तयार रहेको भन्दै अब बंगलादेशसँग जोडिने गरी प्रसारणलाइन निर्माण गर्ने योजना बनेको बताउँछन् ।
‘यसका लागि भारतसँग पनि छलफल हुन्छ,’ उनले भने,’अब भारतले विजुलीलाई रणनीतिक वस्तुबाट हटाएर ब्यापारिक वस्तुको सूचीमा राखेको छ । यसले हामीलाई क्षेत्रीय रुपमा विजुली ब्यापार गर्छ सहज वातावरण बनाउँछ ।’

