स्वरोजगारमुलक मिडियाको रक्षाका लागि आवश्यक योजना ल्याउने अर्थमन्त्री को भनाई
१८ श्रावण २०७८, सोमबार १९:२६
साउन १८ २०७८ काडमाण्डौं
अर्थमन्त्री जनार्दन शर्माले स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासंग छलफल गरी आवश्यक योजना ल्याउने बताउनुभएको छ ।
सोमबार नेपाल पत्रकार महासंघले कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा गरेको छलफलमा अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि योजना ल्याउने बताउनुभएको हो । उहाले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले ऐन कानुन निर्माण, संस्थागत कमिकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सत्यतथ्य सूचना संप्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ्य आलोचना गर्न समेत सुझाव दिनुभयो ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले कोभिडले सञ्चार क्षेत्रमा धेरै ठुलो प्रभाव परेको भन्दै पत्रकारहरु पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराउनुभयो । उहाँले मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रीत पत्रकारहरु मारमा परेको भन्दै त्यसको सम्बोधन गर्न सरकारसंग आग्रह गर्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रीत परिवारलाई ठुलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताउनुभयो ।

