सेनामा तीन जोर एक कमाण्ड हेडक्वार्टर सञ्चालनमा, पृतनाहरु निष्क्रिय
२ श्रावण २०७८, शनिबार १२:०९
२०७८ साउन २ गते, काठमाण्डौं
नेपाली सेनाले आफ्नो कमाण्ड संरचनामा आमूल परिवर्तन गर्ने बहससहित अघि बढाएको तीन जोर एक कमाण्ड संरचना हिजो शुक्रबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ।
सैनिक मुख्यालय, जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले चारवटै कमाण्ड हेडक्वार्टरका कमाण्डरहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेर यो संरचना औपचारिक रुपमा कार्यान्वयन भएको घोषणा गरे। २०७२ सालमा संविधान जारी भएपछि सेना सातवटा प्रदेश जस्तै संघीयताको अभ्यासमा गएको थियो । प्रदेश तहमा सेनाका पृतना हेडक्वार्टरहरु सञ्चालनमा थिए । संघीय संरचनामा भइरहेको सैन्य अभ्यास ’उकुसमुकुसपूर्ण’ भएपछि सेनाले त्यसको साटो कमाण्ड हेडक्वार्टरको संरचनामा जाने बहस अघि बढाएको थियो। त्यहीअनुसार गत फागुन २० गते सरकारले सेनाको नयाँ कमाण्ड संरचनालाई स्वीकृत गरेको थियो।
सेनामा यसअघि जंगी अड्डाभन्दा मुनि सातवटा प्रदेशमा सात र उपत्यकामा एकसमेत गरी आठवटा पृतना हेडक्वार्टर थिए । अब कमाण्ड हेडक्वार्टर कार्यान्वयन भएसँगै पृतनाका ती सबै संरचना निष्क्रिय बनेका छन् । जंगी अड्डाले अब सबै ८ वटा पृतना हेडक्वार्टरमा ४ वटा कमाण्ड हेडक्वार्टरमा स्तरोन्नति भएको जनाएको छ। सेनामा अब पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र भ्याली कमाण्ड गरी चारवटा कमाण्ड संरचना रहनेछन्। पूर्वी, मध्य र पश्चिम कमाण्डलाई नदी बेसीनका आधारमा स्थापना गरिएको सेनाले जनाएको छ। भ्याली कमाण्ड भने मुलुकको संघीय राजधानीलाई ध्यानमा राखेर खडा गरिएको छ।

