विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा जाने प्रचण्डको भनाइ
३१ बैशाख २०७६, मंगलवार १६:२६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रणाली अनुरुप नीति नियमहरु र विकास मोडेल परिमार्जनको खाँचो रहेको बताउनु भएको छ ।
मंगलबार ललितपुरमा अन्तराष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उहाँले राज्यका संरचनाहरु, विकासका मोडलहरु पनि समाजवादउन्मुख र संघीय लोकतान्त्रिक गणतन्त्रका संविधानका मर्म र भावना अनुसार निर्देशित हुन जरुरी रहेको बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले विकासको मोडालिटी, राज्यसंरचना र त्यसलाई सञ्चालन गर्ने विधि, प्रक्रिया र कार्यशैली पुरानै रहँदा अन्तरविरोधको स्थिती पैदा हुने बताउनुभयो । अन्तरविरोधले ढिलो छिटो राजनीतिक प्रणालीलाई पनि दुर्घटनातर्फ लागे र विकासको सबै प्रयासहरु बीच बाटोमै अलपत्र पर्ने खतरा पैदाहुनेतर्फ उहाले सचेत गराउनुभयो । उहाले मुलुक संघीयतामा गएको र तीन तहका संरचना निर्माण भएको भन्दै तीनखम्वे अर्थनीति तिनै तहबाट परिचालित हुनुपर्ने उल्लेख गर्नुभयो ।
सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर अग्र्यानिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन बुधबारसम्म चल्ने छ ।

