मुलुकमा अधिनायकवाद हावी हुदै गएको बिश्व प्रकाश शर्माको भनाई
२० असार २०७८, आईतवार १८:३६
२० असार २०७८, काठमाण्डौं
बिपक्षी गठबन्धन आवद्ध पूर्व बिद्यार्थी नेताहरुले सरकारको असंवैधानिक कदमका बिरुद्ध शसक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।
संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलनका सम्बन्धमा पाँच विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा पूर्वबिद्यार्थी एवं कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले मुलुकमा अधिनायकवाद हावी हुदै गएको बताउनुभयो । उहाले अहिले जनताले नै न्याय पाउने अवस्था नरहेको जिकिर गर्नुभयो । मुलुकमा पटक पटक पाँच बर्षका लागि सरकार चलाउन अवसर आएपनि संक्रमणलाई देखाउदै अस्थीरता मात्र हुने गरेको उहाको भनाई छ ।
त्यस्तै एमाले माधव पक्षका नेतृ एवं पूर्व बिद्यार्थी नेतृ रामकुमारी झाक्रीले मुलुकलाई स्थीरता दिन खोजेपनि सत्ता स्वार्थका कारण मुलुक अस्थीरतातर्फ गएको बताउनुभयो । बिदेशीको इशारामा नेपालको संविधानलाई तोड्ने काम भएको उहाको भनाइ छ ।
त्यस्तै बिद्यार्थी नेता एवं माओवादी नेता हिमाल शर्माले आन्दोलनबाट प्राप्त उपलव्धी गुम्ने खतरा भएकाले युवाहरु जाग्नुपर्ने धारणा राख्नुभयो ।
सरकारबिरुद्ध पाँच विद्यार्थी संगठनले अहिले संसद विघटनका विरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ ।


