मन्त्रिपरिषदले पूर्णता छिटै पाउने
१४ भाद्र २०७८, सोमबार १४:४०
१४ भाद्र काठमाण्डौं
सत्तागठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तार छिटो गर्ने बिषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने बिषयमा छलफल भएको हो । बैठकमा नेताहरुले गठबन्धनभित्र विश्वासको वातावरण बनाउनुपर्ने र गठबन्धनलाई थप मजबुत बनाएर सरकार सञ्चालनका क्रममा साझा नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
यस्तै, कोभिड–१९ को व्यवस्थापनमा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन् । त्यस्तै बैठकमा चालु आर्थिक वर्ष ०७८÷७९ को बजेट संशोधन गर्न नेताहरु सहमति नजिक पुगेको बताइएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट अहिलेको सरकारले परिमार्जन गर्ने तयारी गरेको हो । बैठकमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी भएका थिए ।

