आज भारतको स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रमगरि मनाइँदै
३१ श्रावण २०७८, आईतवार ०९:३४
३१ साउन २०७८, काठमाण्डौं
दक्षिणी छिमेकी मुलुक भारतले आज अंग्रेजको शासनबाट स्वतन्त्र भएको दिनका रुपमा ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।
भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ का रूपमा मनाउने निर्णय गरेको हो । स्वतन्त्रता दिवसको अवसरमा आज देशभर खुशीयाली र महोत्सव हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको अवसर पारेर कार्यक्रम गरिने छ ।
त्यस्तै स्वतन्त्रता दिवसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु हुनेछ । आइतबार बिहान प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित लालकिल्लामा झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ७५ औं स्वतन्त्रता दिवस मनाउन प्रधानमन्त्री मोदीले मार्च २०२१ मा गुजरातको अहमदाबादस्थित साबरमती आश्रमबाट ‘स्वतन्त्रताको अमृत महोत्सव’ शुरू गर्नुभएको थियो । स्वतन्त्रता महोत्सव १५ अगस्त २०२३ सम्म चल्नेछ ।

